राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान ११ बजेदेखि बैठक शुरु भएको हो । बैठकमा शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्तावमाथि समितिका सदस्यहरुले धारणा राख्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । प्रत्येक सदस्यहरुलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको समेत उनले जानकारी गराएका हुन् ।

शुक्रबार बसेको बैठकमा अध्यक्ष दाहालले नेताहरु कम्युनिष्ट पार्टीको सिद्धान्त अनुसार नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । त्यस्तै, अध्यक्ष दाहालले उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमै पार्टी नेतृत्वको आलोचना गरेको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष दाहालले महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गर्न समेत चुनौती दिएका थिए ।