राजनीति

१७ हजारको नामले माओवादीलाई अझै बदनाम गर्ने प्रयास गरेकोप्रति अध्यक्ष दाहालको आपत्ति

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनआन्दोनको क्रममा १७ हजार मानिस मारेको भन्ने नामले माओवादीलाई अझै पनि बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय प्रेसिडाँडामा आइतबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । माओवादीलाई अझै पनि बदनाम गर्ने प्रयास गरेकोप्रति उनले गम्भीर रुपमा असन्तुष्टि प्रकट गरेका थिए । महान सहिदलाई सम्मान गर्ने कुरामा भने केही त्रुटी भएको पनि उनले स्वीकार गरेका छन् । सहिद परिवारका दुःख, पीर र मर्का नजिकबाट हेर्नुपर्ने भएता पनि त्यसो हुन नसकेको समेत उनको भनाइ थियो ।

विचार र राजनीतिक मुद्दामा कमजारी गरिएको विषयमा पनि समिक्षा गरिएको उनको तर्क छ । फेरी एक पटक सहिद बिपत्ता परिवारहरुसँग जोडिएर विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढेको अध्यक्ष दाहालको दावी थियो । पार्टीको बैठकमा प्रतिक्रियावादी षड्यन्त्रको विरुद्ध महान सहिदहरुका सपना सम्झदै अगाडि बढ्ने जमर्को गरेको उनको भनाइ छ ।

फेरी एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिन्छ भन्ने विश्वासका साथ अघि बढेको अध्यक्ष दाहालको धारणा छ । त्यस्तै, उनले हाल पार्टी विभाजन गर्न अनेकौं प्रकारका षड्यन्त्र भइरहेको समेत बताएका थिए ।