राजनीति

कुलिङ पिरियड विवाद: छानबिन समितिका ४ जना सांसद बैठक स्थलबाटै सम्पर्कविहीन

१८ साउन, काठमाडौं । संघी निजामती विधेयकमा राखिएको कुलिङ पिरियड व्यवस्था तोडमोड गरिएपछि गठित छानबिन समितिका ४ जना सदस्य बैठक स्थलबाटै बेपत्ता भएका छन् ।

छानबिन समितिले प्रतिवेदन तयार पार्न आइतबार बिहान ७ बजेदेखि नै बैठक बोलाएको थियो । तर मध्याह्न १२ बजेतिर खाना खान भन्दै निस्किएका ४ जना सांसद अपराह्नसम्म बैठक कक्षमा उपस्थित नभएको समितिका एक सदस्यलेजानकारी गराएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसदद्वय जीवन परियार र सुशीला थिङ र नेकपा एमालेका सांसदद्वय नारायण आचार्य र ईश्वरी घर्ती बैठक कक्षमा नआएपछि फोन गर्दा समेत नउठाएर सम्पर्कविहीन भएको समितिका अन्य सदस्यहरूले बताएका हुन् ।
छानबिन समितिले विधेयकको दफाबार छलफल नेतृत्व गरेका सांसदहरूबाटै छेडछाड भएको निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

विधेयकमाथि कांग्रेस सांसद रामहरी खतिवडा नै सभापति रहेको राज्यव्यवस्था तथा सुशासन समितिमा दफाबार छलफल भएको थियो ।