राजनीति

रास्वपा र राप्रपाका सांसदको संसद बैठकमा साढे २ महिनादेखिको अनौठो चरित्र, कहिलेसम्म ?

२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले साढे २ महिनादेखि संसद बैठकमा अनौठो चरित्र देखाएका छन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा पनि दुवै राजनीतिक दलका सांसदहरुले आफ्ना कुरा राखेर बाहिरिएको संसद सचिवालयले जनाएको हो । यसरी संसद बैठकमा पनि केही समय बसेर आफ्ना कुरा राख्ने अनि बाहिरिने प्रचलन उनीहरुका लागि सामान्य नै बनिसकेको छ ।

उनीहरुले राखेका मागप्रति सरकार र देशका प्रमुख तीन प्रमुख राजनीतिक दलहरुले भने पटकै सुन्दैनन् । यस्तो अवस्थामा यी दुवै दलले अब कति समयसम्म संसद बैठकलाई बहिस्कार गर्दै हिड्छन् भन्ने बारेमा पनि निश्चित छैन । रास्पा र राप्रपाले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएको छन् ।

बुधबारको बैठकमा रास्वपा सांसद समेत रहेका प्रवक्ता मनिष झा र राप्रपा सांसद रोशन कार्कीले आफ्ना कुरा राखेका थिए । त्यपछि उनीहरू बैठक छोडेर बाहिरिएका छन् । सांसद झाले भिजिट भिसा र त्यसबारे सिर्जित समस्याको समाधानका लागि सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरेका थिए । कुलिङ पिरियडमा देखिएको गडबडीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा जिम्मेवार भएपछि पदमा बस्न उचित नहुने उनको भनाइ छ ।

राप्रपा सांसद कार्कीले आफूहरू आन्दोलिन हुँदा किन बैठक चलाइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई प्रश्न गरेकी थिइन ।सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो भन्दै उनले प्रश्न गरेकी छन् । तर सभामुख घिमिरेले राप्रपा र रास्वपाका सांसदहरुको कुराको बेवास्ता गर्दै संसद बैठक संचालन गरिरहेका छन् ।