आर्थिक

शेयर बजार आज पनि घट्यो, ७ अर्ब ६३ करोड बढीको कारोबार

२१ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक बुधबार पनि एक दशमलव ९४ अङ्कले घटेर २ हजार ८ सय ३२ दशमलव शून्य दशमलव ६ बिन्दुमा कायम भएको हो । ३ सय २० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता शेयर ९३ हजार १ सय ८५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९ सय ५२ बराबरको कारोबार भएको हो ।

कारोबारमा लगानी समूह शून्य दशमलव ४९, लघुवित्त एक दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको नेप्सेले जानएको छ । बाँकी सबै समूहको उपसूचक भने घटेको हो । बैंकिङ शून्य दशमलव ४७, विकास बैंक शून्य दशमलव ६१, वित्त शून्य दशमलव ४१, होटल तथा पर्यटन शून्य दशमलव शून्य पाँच र जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३६ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको नेप्सेले जनाएको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै भन्दा बढी थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७८ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा बुधबार सबै भन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु २९ करोड ४५ लाख ५७ हजार ७ सय ५४ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबै भन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको १८ लाख २७ हजार ६ सय ८० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको हो ।