२१ साउन, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ।
इन्भेष्टमेन्टले यहि साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत सोही इकाई निष्काशन गर्ने जनाएको हो । २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन गन इन्भेष्टमेन्टको दावी छ । जसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ ।
१ करोड १२ लाख ५० हजार इकाई भने पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिने भएको हो । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवसथा समेत गरिएको छ । इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा आगामी भदौ ३ र ढिलोमा भदौ १३ गतेसम्म रहने भएको हो ।
‘एनआई ३१ योजना’ले पूँजी बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्ने भएको छ । जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको हो। यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको जनाइएको छ ।





