२६ साउन, ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभएर देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताएका छन् ।
ललितपुरमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाज र संसारलाई परिवर्तन गर्नसक्ने क्षमता युवा नेतृत्वमा हुन सक्ने समेत उनले विश्वास व्यक्त गरेका छन् । मन्त्री गुरुङले केही न केही परिवर्तन गरेर उत्कृष्ट नीतिमा देशलाई अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता रहेको बताएका थिए ।
उनले भनेका छन्,-'दिवसमा छलफल मात्रै गर्ने होइन, प्रतिबद्धता कार्यान्वयन महत्त्वपूर्ण हो। युवालाई दिगो विकास लक्ष्यको स्थानीय साझेदार कसरी बनाउने भनेर ध्यान दिनुपर्छ। नेपाली युवाले विदेशमा सूचना प्रविधि क्षेत्रको कम्पनी स्थापना गर्न सक्ने, आम्दानी भित्र्याउन सक्नेगरी कानूनी प्रबन्ध गरेका छौं।'
सूचना प्रविधि क्षेत्रको साझेदार र हिस्सेदार युवा भएको बताउदै मन्त्री गुरुङले नेपालको विकासमा युवाको सहभागिता महत्त्वपूर्ण भएकाले उनीहरूलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् । प्रविधि र नवप्रवर्तनलाई ध्यानमा दिएर काम गर्न सकियो भने दिगो विकास लक्ष्य हासिल गर्दै समृद्धि हासिल गर्न धेरै राम्रो हुनसक्ने उनको दावी छ ।
मन्त्री गुरुङले स्थानीय तहमा सोचेर संसारभरी प्रभाव पार्नेगरी समृद्ध डिजिटल नेपालको कार्यान्वयन आवश्यक रहेको बताएका थिए ।





