राजनीति

संविधान अनुसार नै सरकार निर्माण अगाडी बढाउनसहित काँग्रेस महामन्त्रीद्वय गगन–विश्वको ९ बुंदे अपिल 

२५ भदौ, काठमाडौँ ।  नेपाली काँग्रेसका माहामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन अपिल गरेका छन्  

उनीहरूले विज्ञप्ति जारी गर्दै ९ बुँदे ध्यानाकर्षणसमेत गराएका छन् । देशमा १९ जना जेएजी युवाहरुको एकै दिन प्रहरीको गोली लागि निधन हुनु र अर्को दिन सिंहदरबार,  सर्वोच्च अदालत, संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका देशका मुख्य प्रशासनिक स्थानमा आगजनी तथा तोडफोड हुनु तथा विशिष्ट व्यक्तिहरूमाथि आक्रमण हुनुमा दुःख व्यक्त गर्दै सरकार निर्माणलगायतका कार्य गर्दा संविधान अनुसार नै गर्नुपर्ने तर्क गरेका छन् । 

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक पटक अनुरोध गर्दासमेत सामाजिक सञ्जाल नखोलेकोमा आक्रोश पोख्दै आफूहरूलाई नजर अन्दाज गर्दाको परिणाम आएको दाबी गरेका छन् । 

सभापति शेरबहादुर देउवा उपर भएको आक्रमण एवं अन्य जो जसमाथि अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ, ती प्रत्येक घटना दुःखद र निन्दनीय भएको उनीहरूले संयुक्त विज्ञप्तिमार्फत बताएका छन्। 

भदौ २५, २०८२

संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔँ 

आदरणीय नेपाली आमावुवा, दिदीबहिनी तथा दाजुभाइहरू

न्भल(श् युवाहरूले शुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाहरूप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ । नेपाल देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढङ्गले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ । मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न चाहने सबैमा नेपाली काँग्रेस हार्दिक आह्वान गर्दछ ।

१। यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दछौँ । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न हामी आग्रह गर्दछौँ । नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, सञ्चार जगत्, अन्तर्राष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपिल गर्दछौँ ।

२। हामी यो पहललाई  न्भल(श्   पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गर्दछौँ । त्यसो गर्दै गर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहन्छौं । विधि विहीनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौँ– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हर सम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।

३. सोमवारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुराको पनि पुनः ध्यानाकर्षण गराउँदछौ ।

४. सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्विकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्विकार्न जरुरी छ । हाम्रो पटक पटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आङ्कलन आफू गर्न सक्नुपर्छ या अरूले दिएको सही सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात् गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिङ्गो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौँ ।

५. सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मङ्गलवारका घटनाहरूले थप पीडा थप्न पुग्यो । शान्तिपूर्ण प्रदर्शन मार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने  न्भल(श्   पुस्ताको उद्घोष विल्कुलै जायज थियो । तर सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौँको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने घोषणा न्भल–श् को थिएन, र त्यो  न्भल(श्   को माग पनि होइन भन्ने हाम्रो विश्वास हो । कयौँ सरकारी कार्यालय, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनी अत्यन्तै दुःखद र निन्दनीय छ ।  न्भल(श्   आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रूपमा यो सब विध्वंस गरेका हुन् भन्ने हाम्रो बुझाइ छ । जेनजी युवाहरूको स्वतःस्फूर्त प्रदर्शनमा विभिन्न स्वार्थ समुहले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर निन्दा गर्छौँ । अबको सरकारले देशब्यापी रूपमा भएको यो सम्पूर्ण ध्वंसको छानबिन गर्न र पुनर्निर्माणका लागि यथाशक्य चाँडो योजना निर्माण गर्नुपर्दछ ।

६. नागरिकको बोल्ने अधिकारको रक्षाका लागि लडेका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपर भएको आक्रमण एवं अन्य जो जसमाथि अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ, ती प्रत्येक घटना दुःखद र निन्दनीय छन् । यस्ता घटनाको हामी प्रस्ट शब्दमा भ्रत्सना गर्दछौँ ।

७. सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको विषयलाई गम्भीर आत्म समीक्षा गरिरहेका छौँ । त्यस क्रममा सत्तालाई जबाफदेही बनाउन गरेका हाम्रा प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा हामी आत्मालोचित छौँ । तर, अब फेरिएको यस परिस्थितिमा युवाहरूको आकाङ्क्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रूपमा नेपाली काँग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौँ । हामी विश्वस्त छौँ– आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली काँग्रेस आम जनताको अपेक्षा,  न्भल(श्   युवाहरूको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ ।

८. आम नागरिकको प्रतिनिधित्व, न्याय र समावेशिताका हकमा हामी जति अघि बढेका थियौँ, त्यसबाट पछि फर्किनु भनेको अरू यस्तै आन्दोलन र विद्रोहहरूको शृङ्खलालाई निम्तो दिनु हो भन्ने स्मरण गर्दै, यस अघिका आन्दोलनका बेला अहिले जस्तै गरी सार्वभौम नागरिकहरूले ज्यू–ज्यान दिएर हात परेका उपलब्धि नउल्टिउन भन्नेमा र देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन अब हाम्रो सम्पूर्ण प्रयास केन्द्रित गर्नेछौँ । परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढङ्गले प्रस्ट छौँ ।

९. हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकूल र प्रतिकुल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ । दुवै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिक-पंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनुभएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ । नेपाली काँग्रेस धेरै पटक अनकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि बढेको हो । त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रूपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपिल गर्दछौँ । हामी पुनः विश्वास दिलाउन चाहन्छौँ– गम्भीर आत्म समीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बिचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौँ र समुन्नतिको यात्रालाई सम्हाल्ने छौँ ।

अन्त्यमा, अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य छ । अत्यन्तै कठिन अवस्था र प्रतिकुलता बिच पनि ‘सामाजिक एकता र सद्भाव’ नेपाली समाजको विशिष्ट चरित्र हो । अहिलेको अवस्थामा यो चरित्र बलियो ढङ्गले प्रस्तुत गर्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली आमाबुबा, दिदीबहिनी दाजुभाइमा हार्दिक आह्वान गर्दछौँ ।

जय नेपाल         

विश्वप्रकाश शर्मा     गगन कुमार थापा  

महामन्त्री महामन्त्री