राजनीति

कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘जनभावना एकातिर, परिणाम अर्कातिर छ’

२५ कात्तिक, काठमाण्डौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देश असहज परिस्थितिमा रहेको र राजनीतिक दलहरूमा अस्थिरता र अविश्वास बढेको बताएका छन् । उनले भाद्र २३ र २४ का हिंसात्मक घटनाले मुलुकको शान्ति र लोकतन्त्रमा गम्भीर घाउ पु¥याएको बताएका हुन् ।

भाद्र २३ र २४ गतेकोे अकल्पनीय घटनाले हामीलाई मुलूकका वारेमा मात्रै होइन हाम्रै पार्टीको आन्तरिक जीवनका वारेमा पनि गहिरो चिन्तन गर्नुपर्ने मोडमा पु¥याएको छ । हाम्रो पार्टीको नीति, नेतृत्व, र्सगठन र शैलीका वारेमा घोत्लीन र सामुहिक सम्वाद गर्न बाध्य पारेको छ ।

नेपाली कांग्रेसले यी घटनाको निन्दा गर्दै पीडितहरूलाई क्षतिपूर्ति र दोषीहरूलाई कानूनी कारबाहीको माग गर्नु पर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, सभापति शेरबहादुर देउवा र नेताहरू माथिको आक्रमणलाई पार्टीमाथिको मात्र होइन, लोकतन्त्रमाथिको प्रहार ठहर गरिएको छ ।

मुलुक संकटमा रहेको भन्दै एकता, संयम र संवादबाट कांग्रेस र लोकतन्त्र जोगाउन सबैलाई आह्वान गरिएको उनले बताएका छन् ।

मिन विश्वकर्माले यस्तो आजकाे केन्द्रीय सिमितिमा बाेल्दै यसाे भनेका छन्:

अहिले सिंगो मुलूक असहज परिस्थितीमा गुज्रीरहेको छ भने, राजनीतिक दलहरुमा सहजता हुने कुरै भएन । हर क्षेत्रमा आशंका, अनिश्चितता र चुनौतिका वादलहरु मडारिरहेका छन् । राजनीति विषयनै यस्तै छ । यो सधै परिवर्तनशील मात्रै होइन, गतिशील र अस्थिर पनि हुन्छ । हरपल यो बदलिईरहन्छ । यसलाई स्थिर वनाउँने भनेको सर्वमान्य प्रणालीको व्यवहारिक अभ्यासले हो । अर्थात राज्य संविधधानले र पार्टी विधानले चलाउँने हो । कुनै राजनीतिक घटना जनभावना अनुसार भए परिवर्तन भन्छौ र विपरित भए दुर्घटना भन्छौ । अहिले जनभावना एकातिर, गतिविधी र परिणाम अर्कातिर भएकोले हामी यसलाई परिवर्तन मान्न सकिरहेका छैनौ । मानिसको व्यक्तिगत वा सामाजिक जीवनमा जस्तै यस्ता उतार चडावहरु राज्य, राज्य प्रणाली र राजनीतिक दलका आन्तरिक जीवनमा पनि हुन्छन् । नेपाली कांग्रेसको आठ दशक लामो जीवन यात्रामा यस्ता कैयौँ आरोह अवरोहहरु आएकाछन् ।

आदरणीय सभापतिज्यू,

(क) गत भाद्र २३ गतेको न्भल(श् पुस्ताका यूवाहरुले भ्रष्ट्राचार विरुद्ध सुशासनका पक्षमा शान्तिपूर्ण गर्ने भनिएको प्रदर्शन केही क्षणमै अकस्मात अनियन्त्रित, अराजक र हिंसात्मक वन्यो । गोली चल्यो र १९ जना यूवाले सोही दिन ज्यान गुमाउँन पुगे । अत्यन्तै अकल्पनीय र दुखद घटना घट्न पुग्यो । उक्त घटना प्रति गहिरो दुःख, गर्दै घटनामा सहादत प्राप्त गरेका ती नेपाली आमाका सन्तानको दिवंगत आत्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति एवं उपचाररत घाइतेहरुको निशुल्क उपचारको माग गर्दै पूर्ण स्वास्थलाभको कामना गर्दछु ।

(ख) भाद्र २४ गते नेपाली कांग्रेसका सभापति एवं उहाँकी धर्म पत्नी, पार्टी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा र परिवारजन माथि भएको सांघातिक आक्रमण, उहाँको घरमा भएको तोडफोड, लुटपाट र आगजनी साथै पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका गरी १२५ जना नेताका नीजि घर, डेरा एवं सवारी साधनहरु, अन्य विभिन्न राजनैतिक दलका कार्यालय र दलका नेताहरुका नीजि घर र डेराहरु समेत आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरि ध्वस्त पारिएको घटनालाई नेपाली कांग्रेस र नेपाली कांग्रेसका नेताहरु माथिको आक्रमण मात्रै होइन, नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता र जनताको बलिदानीपूण क्रान्ति, संघर्ष र आन्दोलनवाट प्राप्त संघीय समावेसी लोकतान्त्रिक गणतन्त्र माथिको आक्रमण भएको ठहर गर्दै घोर निन्दा र भत्सर्ना गर्दछु ।

राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरु, प्रहरी कार्यालयहरु, स्थानीय पालिका भवनहरु, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरु, विराटनगरको कोईराला निवास, काठमाण्डौ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम, नेपाली कांग्रेस केन्द्रीय कार्यालय सहित ४८ जिल्लाका विभिन्न तहका पार्टी कार्यालयहरुमा आक्रमण, आगजनी, लुटपाट गर्नु, सुरक्षकमीका हातहतियार, वर्दी लगायतका सुरक्षा सामग्री खोस्नु, सुरक्षाकर्मीमाथि वर्वर आक्रमण र पाशविक हत्या गरिनु र कारागारवाट कैदीवन्दी भगाउँनु, मुलूकमा राज्यविहिनताको अवस्था सिर्जना गर्नुु गराउँनुलाई राजनीतिक घटना मान्नै सकिदैन यो राज्य विरुद्धको अमानवीय अपराधिक कार्य हो । २४ गतेका दिन प्रहरी कार्यालयमा वा सडकमा कर्तव्यपालन गर्दा मारिएका सम्पूर्ण राष्ट्रसेवक सुरक्षाकर्मीहरु प्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

(ग) यी दुवै दिनका घटनामा लुटिएका सुरक्षकर्मीका हातहतियार, वर्दी तथा सुरक्षा सामग्रीहरु तत्काल फिर्ता गराउँन, विभिन्न कारागारवाट भागेका कैदीबन्दीहरुलाई पुनः पक्राउ गर्न र तोडफोड र आगजनीवाट ध्वस्त पारिएका प्रहरी कार्यालय सहित सवै सरकारी भवनहरु यथाशीघ्र पुनःनिर्माण गरि समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँन घटनामा आक्रमणको निशानामा परि तोडफोड लुटपाट र आगजनीको शिकार भई सर्वस्व गुमाएका व्यक्ति, आर्थिक तथा व्यवसायिक नोक्सानी व्यहोर्न वाध्य भएका व्यापारिक/व्यवसायिक प्रतिष्ठानहरुलाई उचित क्षतिपूर्तिको प्रवन्ध गर्न नेपाली कांग्रेसको यो वैठकले सरकारसंग जोडदार माग गर्नुपर्दछ ।

(घ) भाद्र २३ र २४ गतेको अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भएको देखिएन । सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटना पछि वाहिर आईरहेका अनगिन्ती तथ्यहरुले पुष्ठि गरिरहेकाछन् । तसर्थ राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र नेपाली जनताको हितलाई केन्द्रविन्दुमा राखि घटना र घटनासंग जोडिएका हरेक विषय र पक्षको यथाशिघ्र गहिरो तथ्यगत अध्ययन र खोजि गरि कानूनी दायरामा ल्याउँनुपर्दछ । यसका लागि नेपाली कांग्रेस पार्टीले पनि विज्ञहरु सम्मिलित एक उच्च स्तरिय अध्ययन् समिति गठन गरि सत्य तथ्यमा आधारित प्रतिवेदन तयार गर्नुपर्दछ ।

(ङ) “भ्रष्ट्राचार अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता” को आवाज तथा अभियान हाल जेनजी ९न्भल(श्० नामक यूवा पुस्ताले मात्रै उठाएका होइनन् । यो सवाल हाम्रै पार्टीका यूवा विद्यार्थीहरुले पनि समय समयमा उठाउँदै आएका मुद्धा हून । लोकतान्त्रिक शासन प्रणालीमा आपूलाई चित्त नबुझेका कुरा नागरिकले सधै उठाउँछन् । उठाउँन पाउँनुपर्दछ । साथै यस्ता विषयहरु स्थायी प्रकृतिका हुन्छन । विभिन्न समयमा फरक फरक ढंगले उठ्ने गर्दछ ।

तर यी कुरा गरिरहँदा भ्रष्ट्राचार नियन्त्रण गरी नागरिकलाई सुशासन र पारदर्शिताको सुनिश्चिता दिलाउँन नेपाली कांग्रेसकै सरकार भएको वेला २०५८ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन, सम्पति सुद्धिकरण आयोग, राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग जस्ता नियमनकारी निकाय गठन गरेको कुरा भने अरुले भूले पनि नेपाली कांग्रेसले भूल्न हुँदैन । बरु राज्यका यी निकायले प्रभावकारी ढंगले किन काम गर्न सकिरहेका छैनन् भनेर चिन्तन गर्ने वेला आएकोछ । यत्तिका संवैधानिक तथा कानूनी निकायहरु हुँदाहुँदै पनि भ्रष्ट्राचार दिनानुदिन मौलाउँदै जानु र जनताको शासन व्यवस्था ल्याउँन बलिदानीपूर्ण ऐतिहासिक योगदान गरेका राजनीतिक दलहरु आलोचनाको केन्द्रमा रहने कुरा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक र पारदर्शी पार्टीका लागि लज्जाबोधको अवस्था हो ।

प्रतिनीधिसभा विघटन र घोषित निर्वाचन सम्वन्धमाः

(क) भाद्र २४ गते मुलूकमा अकल्पनीय हिंसा, आतङ्क र अराजकताको अवस्था सृजना भयो । कुनै पनि सुरक्षा निकायले नागरिकको जीउधन एवं नीजि तथा सार्वजनिक सम्पतिको रक्षा गर्न सक्ने अवस्था भएन । स्थितिलाई मध्यनजर गरि प्रधानमन्त्री केपी वली ले राजीनामा गर्नुभयो । तत्पश्चातको कामचलाउँ सरकारले झन शाान्तिसुरक्षा कायम गर्नेसक्ने अवस्थानै रहेन । तत्कालिन सरकार विहिनताको अवस्थामा प्रदर्शनकारीहरुको मागलाई संवोधन गरी मुलूकमा शान्ति कायम गर्न सम्माननीय राष्ट्रपतिज्यूले संसद भन्दा वाहिरवाट संविधानले नचिनेको व्यक्तिलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभयो । विद्यमान संसदवाट तत्कालिन समस्याको निकास खोज्न सकिन्थ्यो तथापी परिस्थितिलाई समाल्न गरिएको संसद वाहिरवाट सरकार वनाउँने र सोही सरकारले संसद विघटन गर्ने कुरा दुवै निर्णयलाई संविधान वमोजिमको कार्य मान्न सकिदैन ।

(ख) अहिले हाम्रो सामु देखिएको चुनौति भनेको तत्कालिन परिस्थितीलाई समाल्न गरिएको असंवैधानिक निर्णयका कारण वाटो विराउँन पुगेको संविधानलाई पुनः कसरी मुलवाटोमा फर्काउँने भन्ने नै हो । नयाँ सरकार गठन र प्रतिनीधिसभा विघटन भएको भएतापनि नयाँ जनमतका लागि प्रतिनीधिसभाको निर्वाचनको मिति घोषणा हुनु सकारात्मक नै मान्नु पर्दछ । किन कि निर्वाचनका माध्यमवाट संविधान विपरित भएका निर्णयहरु सच्याउँन सकिन्छ ।

एका तर्फ नयाँ निर्वाचनको मिति घोषणा भएको छ भने अर्कातर्फ प्रतिनीधिसभा विघटन गर्ने निर्णय असंवैधानिक हो भनि सर्वोच्च अदालतमा रिट निवेदन परि वहस पैरवी पनि भईरहेको अवस्था छ । नेपाली कांग्रेसले न्यायिक निरुपणको अदालती वाटोलाई निर्वाद खुल्ला राख्दै निर्वाचनको वाटोलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । अलमल गर्नु हुँदैन । २०६४ सालमा निर्वाचन हुन्छ कि हुँदैन भन्दै अलमल गरि वस्दाको परिणाम हामीले स्मरण गर्नुपर्दछ ।

(ग) तर बिद्यमान शान्ति सुरक्षाको अवस्थामा निर्वाचन हुन सक्ने नदेखिएकोले तत्काल शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउँन, सुरक्षाकर्मीको मनोवल उच्च बनाउँन र आम नागरिकहरुमा भयरहित वातावरण कायम गर्ने दायित्व सरकारको हो ।

नेपाली कांग्रेसको आन्तरिक जीवनका वारेमाः

आदरणीय सभापतिज्यू,

(क) मानव जीवन र प्रवृतिनै यस्तै रहेछ । भाद्र २२ गते सम्म असल, सक्षम पितातुल्य भनि सम्बोधन गरिएका पार्टी सभापति माथि अकस्मात अपराधिक भिडले सांघातिक आक्रमण गरि मरणासन्न अवस्थामा बनाएपछि तत्कालनै उहाँलाई अलोकप्रीय देखाउँने प्रयत्न भयो । त्यो त्रसित र कहालीलाग्दो अवस्थामा सायद हामी कसैले पनि सत्य ओकल्ने हिम्मत गरेनौं । समय बित्दै गयो । उहाँको स्वास्थ अवस्थामा सन्तोषजनक सुधार भए । हामी सवै खुसी भयौं ।

आश्विन २८ गते पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको वैठकमा आएर आफना मन र मस्तिष्कामा खेलेका भावनाहरुलाई शालिन शैलीमा लिखित मन्तव्यको रुपमा बैठकमा प्रस्तुत गर्नु भयो । उहाँका भावना, शव्द र शैलीले देश दुनियाँमा पार्टी प्रतिको सकारात्मक सन्देश फैलियो । जव उहाँ प्रति प्रशंसाको ओइरो आउँन थाल्यो फेरी हामी गर्व महसूस गरिरहेका र्छौ । सात पटक सांसद, पाँच पटक प्रधानमन्त्री र तीन पटक पार्टी सभापति हुँदा कुनै पनि दृष्टिले निर्विवाद रहुनुभएको राजनेता हो । आर्थिक सामाजिक तथा साँस्कृतिक क्षेत्रमा उहाँले गर्नुभएका राजनैतिक र सरकारी निर्णयहरुको निकै लामो सूचीले आज पनि त्यही प्रमाणित गर्दछ । । उहाँले राष्ट्रिय राजनीतिमा गर्नुभएका ऐतिहासिक योगदान देश र कांग्रेसले सधै गौरव गर्न लायक छन् । उहाँ अहिले पार्टी सभापति मात्र होइन, देशकै अनुभवि राजनेताको रुपमा हुनुहुन्छ, र सदैव रहि रहनुहुनेछ । हाल उहाँ थप उपचार गराईरहनु भएकोले उहाँको पूर्ण स्वास्थलाभको कामना गर्दछु ।

(ख) हाल नेपाली कांग्रेसमा “काम कुरा एकातिर कुम्लो वोकि अकैतिर” भन्ने उखान चरितार्थ भएको छ । मुलुक संकटमा छ । तर मुलूकको जेठो, पहिलो र जनताले भरोसा गरेको दल नेपाली कांग्रेस भने अहिले मात्रै होइन विगत लामो समय देखि आन्तरिक खिचतानीको कारण खास खास समयमा अलमलिने गरेको छ । २०७९ को निर्वाचनमा नेपाली राजनीतिमा यूवा र स्वतन्त्रको नाममा नयाँ लहर आउँनु र हाम्रो जनमत घट्नुमा हाम्रो अलमल र अनिर्णय हो भन्ने मेरो ठहर छ ।

२०७६ देखि २०८१ करिव पाँच वर्ष सम्म ने.बि.संघ, तरुण दल लगायतका भ्रातृ संगठनहरु गठन गर्नै सकेनौ । गठन गरेकाहरुमा पनि कुनैमा अध्यक्ष मात्रै र कुनैमा चारजना सदस्य राखेर वर्षौ गुजा¥यौं । यही समयमा हज्जारौ यूवाहरु दिशा विहिन भए । जव यूवाहरु स्वतन्त्रका नाममा अन्य दल वा समूहमा आवद्ध हुने काम भईसक्यो अनि फेरी विधि विधान मिचेर जथाभावी मानिसहरुलाई भ्रातृ शुधेच्छुक संस्थामा तीन सय, चार सय र सात सयका भद्धा कार्यसमितिहरु वनायौं । पहिले काम गर्ने संख्याको समिति भएनन । पछि काम गर्नै सक्ने संख्याको समिति भएनन् । त्यसैले अहिले हामी यूवा खोई भनेर प्रश्न गर्दा पार्टीको निर्णयक तहमा रहनुभएका नेताहरुले यो वैठकलाई जवाफ दिनु पदैन र ? ख्याल गरौ आज गरेको अलमलको मूल्य पार्टीलाई भारी पर्नेवाला छ । पछि फेरी अहिेले नेतृत्वमा रहनुभएकाले जवाफ दिनुपर्नेछ ।

(ग) तसर्थ निर्वाचन कि अधिवेशन ? नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफालौं अधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्वका कार्य हून । केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था वन्छ भने ठिकै होला । होइन भने पार्टी सहज अवस्थामा रहदैन । तर नियमित अधिवेशनले पार्टी जीवनमा उत्साह, चाहाना र रुपान्तरण ल्याउँनेछ भने आम निर्वाचनले आम नेपाली जनतामा आशा भर्नेछ र सिङ्गो मुलूकलाई सहि दिशामा लान मद्धत गर्नेछ । तर कून पहिेले भन्ने सवाल हाम्रा सामू तेर्सिएको छ । मलाई लाग्छ दुवै तोकिएको समयमा हुन जरुरी छ । यसका लागि छलफल र वहसमा अल्झिएर समय वर्वाद नगरौं महाधिवेशनको माध्यमवाट निर्वाचनको तयारी गरौं । यसको मतलव निर्वाचन भन्दा अघिनै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौं । सोही अनुसार सवै तहका अधिवेशनको तालिका सार्वजनिक गर्रौ । क्रियाशील सदस्यता नविकरण, नयाँ वितरण प्रभावकारी वनाउँने कार्य तिव्र गतिमा अघि वढाऔं । यसले निर्वाचनको माहौंल पनि संग संगै वनाउँदै लान्छ । वडा र पालिका तह सम्मको अधिवेशनले आम चुनावमा नोक्सान पु¥याउँदैन । जव निर्वाचनको चाप वढ्छ, पार्टीको सम्पूर्ण शक्ति आम निर्वाचनमा लगाउँनु पर्ने हुन्छ तव अधिवेशनका वाँकी कार्यक्रम स्थगन गरि सम्पूर्ण शक्ति निर्वाचनमा लगाउँला ।

(घ) नियमित अधिवेशनका लागि उपयुक्त मितिमा सहमती गरौं र तत्काल कार्यतालिका सार्वजनिक गरौं अधिवेशनलाई अनिवार्य चाहिने देहाय वमोजिमका समितिहरु यही वैठले गठन गरौं ।

१. बिधान संशोधन मस्यौदा समिति

२. क्रियाशील सदस्यता छानविन समिति

३. निर्वाचन समिति

४ आर्थिक स्रोत व्यवस्थापन समिति

(ङ) आम निर्वाचनको तयारी पनि संग संगै गरौं । निर्वाचन हुन्छ भन्ने विस्वासका साथ पार्टीका सवै तहमा प्रवावकारी परिपत्र गरौं । यसका लागि देहायका काम यसै वैठकवाट गरौं ।

(१) पार्टीको प्रतिवद्धता पत्र तयारी समिति

(२) निर्वाचन परिचालन समिति

(३) प्रचार प्रसार समिति

(४) विभिन्न समयमा पार्टी संग गुनासो गरि निस्क्रिय रहेका वा पार्टी परित्याग गरी अन्यत्र गएका सार्थीहरुलाई पार्टीमा फर्कन, सकृय हुन र नवयूवाहरुलाई पार्टीमा आवद्ध हुन देशव्यापी अपील गर्ने ।

(५) विभिन्न तहमा रहेका पदाधिकारी, सदस्य एवं नेताहरुका विरुद्ध अनुशासनको कार्वाही गरिपाउँ भनि केन्द्रीय अनुशासन समितिमा परेको लिखित उजुरी उपर अनुशासन समितिले गरेको निर्णयमा चित्त नबुझि अन्याय भयो भनि विधानका वमोजिम सम्वन्धित व्यक्तिले लिखित पुनरावेदन गरेको सन्दर्भ र वर्तमान विकसित राजनीतिक अवस्थामा पार्टीलाई सुसंगठित गर्न पार्टी भित्र बृहत एकता कायम गर्दै पार्टीलाई थम सवल वनाउँन उनीहरुलाई आगामी दिनमा त्यस्ता गल्ती कम्जोरी नगर्न सचेत गराउँदै एकपटलाई आम माफी दिने ।

(६) निर्वाचनमा सधै वागी विद्रोही उम्मेद्वारको मात्रै गल्ती हुदैन भन्ने कुरा विगतका धेरै निर्वाचन, त्यसका परिणाम र तत्पश्चात हाम्रो पार्टीले गरेका निर्णयहरुले प्रमाणित गरेकाछन् । तर उम्मेद्वार छनौटको निर्णय गर्ने व्यक्ति कहिल्यै दण्डित भएनन् । जसका कारण पनि पार्टी भित्र वितृष्ण र विकर्षण बढ्नुको एउटा कारण टिकट वितरणको लाहपर्वाही पनि हो । त्यसैले त्यस्तो परिस्थितीमा निर्वाचनका लागि पार्टीका तर्फवाट उम्मेदवार छनौट प्रक्रियामा संलग्न निर्णायक व्यक्तिहरुलाई पनि जिम्मेवार वनाउँने नीति तय गर्नुपर्दछ । यसवाट उम्मेदवार छनौटमा देखिएको व्यथिती र भ्रष्ट्राचार अन्त्य गर्न सकिन्छ ।

अन्त्यमा,

मुलूक संकटमा छ । व्यवस्था विरुद्ध विभिन्न पक्षवाट प्रहार भईरहेको छ । यो व्यवस्था ल्याउन संघर्षमा सहकार्य गर्ने दल कमजोर वनाउँने षडयन्त्रका तानावाना यत्रतत्र देखिरहेकाछौ । हरेक वर्ष होइन, हरेक महिना स्थापित बैचारिक पार्टीहरु टुट्ने र अस्थिर मुद्धा उठाएर नयाँ पार्टीहरु गठन गर्ने लहर चलेको वेला हामीले आपसमा संयम, संवाद र सहकार्यको माध्यमवाट देश र कांग्रेस जोगाउनु परेको ऐतिहासिक मोडमा छौ । समय को महत्व वुझौं अलमलवाट वाहिर निस्कौ भन्ने हार्दिक अनुरोध गर्दछु ।