राजनीति

‘प्रसाईलाई २४ घण्टामा छोड, नत्र सरकारी डेटा लीक’ ह्याकर समूहको धम्की

२ मङ्सिर, काठमाडौँ ।  ह्याकर समूहले सार्वजनिक गरेको दावीनुसार, उनीहरूले गृहमन्त्रालय मातहत राखिएको सर्वर तथा डेटा प्रणालीमा पहुँच जमाएर नियन्त्रणमा लिएको बताएका छन् । ‘डिजिटल दस्ता’ नामक प्रसाईं समर्थक साइबर समूहको संलग्नता पनि देखिएको भन्दै उनीहरूले सरकारी संवेदनशील डेटा आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

समूहले वेबसाइटमार्फत संदेश पोष्ट गर्दै भनेका छन्, “हाम्रा नेता दुर्गा प्रसाईंलाई रिहा गरिएन भने गृहमन्त्रालय अन्तर्गतको सबै डेटा सार्वजनिक गर्नेछौँ ।”

यस घटनापछि राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट केही समय अवरुद्ध भएको थियो । विभागका अधिकारीहरूले साइबर आक्रमणको विषयमा प्राविधिक अनुसन्धान भइरहेको जनाएका छन् । गृहमन्त्रालयले भने औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।

यसअघि प्रसाईंको गिरफ्तारी विरोधमा विभिन्न स्थानमा प्रदर्शन भइरहेका बेला यो साइबर आक्रमणको घटना सार्वजनिक भएको हो ।
स्थिति नियन्त्रणमा लिन साइबर ब्युरो तथा सरकारी प्राविधिक टोली परिचालन गरिएको स्रोतले जनाएको छ।