३ मङ्सिर, काठमाडौं । ‘हामी नेपाली’ अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालमाथि कडा आलोचना गरेका छन्। गुरुङले सरकारले शक्तिशाली र प्रभावशाली व्यक्तिहरूलाई उन्मुक्ति दिँदै कमजोर पक्षमाथि मात्र कानुन चलाउने अभ्यास दोहोर्याइरहेको आरोप लगाएका हुन्।
फेसबुकमार्फत प्रतिक्रिया दिंदै गुरुङले कट्टर र राष्ट्रलाई उर्दूने अभिव्यक्ति दिएका व्यक्तिहरू खुलेआम राज्यलाई चुनौती दिँड्दा पनि सरकार मौन बसेको आरोप लगाए। उनले भनेका छन्, “दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ भाषण गर्नेहरू स्वतन्त्र घुमिरहेका छन्, तर शान्तिपूर्ण प्रदर्शन गर्ने युवामाथि गोली हान्नेहरूलाई सरकार कारबाही गर्ने हिम्मत राख्दैन।”
गुरुङले गृहमन्त्रीलाई नै प्रश्न गर्दै भने, “संविधानविद् भनेर चिनिने तपाईं बताइदिनुस, संविधानको कुन धारामा ‘सानालाई ऐन, ठुलालाई चैन’ लेखिएको छ? विधिको शासन लागू नभए पुरानो शासन र अहिलेको बीचमा के फरक रह्यो?”
शक्तिशाली समूहले खुलेआम दादागिरी गर्दै लोप्पा काण्डसम्म गरिरहेका अवस्थामा गृहमन्त्री मौन देखिनु र कुर्सी जोगाउन व्यस्त हुनु देशको सुशासनका लागि खतरा भएको उनको टिप्पणी छ।
गुरुङले मृतक तथा घाइतेका परिवारले न्याय पाउनुपर्ने, सबै नागरिकले समान न्यायको अनुभूति पाएन भने आगामी चुनाव सहज रूपमा सम्पन्न हुन नसक्ने चेतावनी पनि दिएका छन्।





