समाचार

आजको एकता घोषणामा जनार्दनका सहयात्री को -को ?

७ मंसिर, काठमाडौं । जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज राजधानीमा ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्न लागेको छ। राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे शुरू हुने कार्यक्रममा नयाँ राजनीतिक मोर्चाको औपचारिक घोषणा गरिनेछ।

यस घोषणामा जसपा (नयाँशक्ति) जसलाई अहिले दुर्गा सोबले नेतृत्व गर्दैछन्, प्रगतिशील लोकतान्त्रिक पार्टी जनार्दन शर्माको पहलमा बनेको र हाल सुदन किराँती नेतृत्वमा रहेको, र रास्वपा परित्याग गरेका पूर्व सांसद सन्तोष परियार नेतृत्वको समूहबीच एकता हुने पक्का भएको छ। यसअघि नै तिनै समूहबीच एकताको सहमति पत्रमा हस्ताक्षर भइसकेको छ, र आज सोही सहमति सार्वजनिक रुपमा घोषणा गर्न लागेको हो।

एकता घोषणाअघि शनिबार त्रिपुरेश्वरमा आयोजित भेलाले पनि तीन पक्षबीचको एकतालाई अनुमोदन गरेको थियो।

जनार्दन शर्मा माओवादी केन्द्र एकीकृत समाजवादीबीचको एकता प्रक्रियापछि त्यसबाट अलग भएका थिए। त्यसपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गर्दै नेतृत्व सुदन किराँतीलाई दिएका छन्। आजको सार्वजनिक घोषणासँगै नयाँ राजनीतिक शक्ति औपचारिकरूपमा देशभर प्रस्तुत हुने तयारीमा छ।