७ मंसिर, काठमाडौं। नेकपा माओवादी केन्द्र छोडेर नयाँ पार्टी गठनमा लागेका नेता जनार्दन शर्माले प्रचण्डलाई ‘मठाधीश’ को संज्ञा दिएका छन्। आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै शर्माले माओवादीभित्रका पुराना संरचनात्मक नेताहरूलाई ‘धुपबत्ती गर्न छाडेर’ नयाँ पार्टी निर्माणमा लागेको बताए।
शर्माका अनुसार, “सामन्तवादको सिंहासन भत्काएर लोकतान्त्रिक गणतन्त्र निर्माणमा सहभागी हामीहरूले पुराना मठाधीशहरूलाई छोड्दै प्रगतिशील पार्टी गठन गरेका छौं।”
कार्यक्रममा शर्माले पार्टीको घोषणा पत्र समेत प्रस्तुत गर्दै मानव विकास, देश र विश्व राजनीति, तथा पछिल्ला युवा–जनआन्दोलनका अनुभवलाई समेटेका थिए। उनका अनुसार, विगतका आन्दोलन र जेन–जेडको विद्रोहको बलिदानी खेर नजाओस् भन्ने उद्देश्यले नै नयाँ पार्टी गठन गरिएको हो।
शर्माले पार्टीको उद्देश्य स्पष्ट पार्दै भने, “हाम्रो पार्टी नयाँ दल थप्ने वा नयाँ नेता उत्पादन गर्ने उद्देश्यले नभई वर्तमान विकृत राजनीतिको सुधार गर्दै आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा समतामूलक राष्ट्र निर्माणका लागि स्थापना गरिएको हो।”
उनले आगामी वर्ष राजनीतिक पुन:संरचना सम्मेलन २०८२ आयोजना गर्ने जानकारी दिए। सम्मेलनमार्फत संविधान संशोधन, शासकीय स्वरूप, निर्वाचन प्रणाली, लोकतन्त्रको समृद्धि, ‘राइट टु रिजेक्ट’ र प्राइमरी इलेक्सन जस्ता विषयमा छलफल गरिने शर्माले बताए।
उनको भनाइ अनुसार, “राजनीति मानव सभ्यताको केन्द्र हो। नेतृत्व सही नभएमा सामाजिक, सांस्कृतिक र आर्थिक प्रणाली सुदृढ हुन सक्दैन। त्यसैले हाम्रो प्रमुख जिम्मेवारी वर्तमान गतिहीन राजनीतिको पुन:संरचना गर्नु हो।”
पार्टीले देशका सबै क्षेत्र, जाति, धर्म, लिङ्ग, बौद्धिक वर्ग र विज्ञहरूको सहभागितामा आगामी सम्मेलन सञ्चालन गर्ने तयारी गरेको छ।





