राजनीति

कांग्रेसमा विशेष महाधिवेशन विवाद चर्कियो

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर शीर्ष तहमै तीव्र मतभेद देखिएको छ। महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन अपरिहार्य भएको अभिव्यक्ति सार्वजनिक गरिरहँदा संस्थापन पक्षीय नेताहरू भने यस्तो सम्भावना नै नभएको जिकिर गरिरहेका छन्।

महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत् पार्टी नेता तथा कार्यकर्ताहरूले प्रतिनिधिसभा निर्वाचनका लागि वर्तमान सभापतिकाे हस्ताक्षर प्रयोग हुने वा नहुनेबारे निरन्तर प्रश्न गरिरहेको भन्दै विशेष महाधिवेशन समयमै सम्पन्न हुने टिप्पणी गरेका थिए। उनले विधानबमोजिम नयाँ सभापति चयन भएपछि पार्टीले सोही नेतृत्वको हस्ताक्षरमा आगामी निर्वाचनमा सहभागी हुने स्पष्ट बताएका थिए।

थापाको उक्त अभिव्यक्तिपछि मंगलबार संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले फेसबुकमार्फत् जवाफ दिँदै कुनै पनि अवस्थामा विशेष महाधिवेशन नहुने दाबी गरे। उनले थापाकै शैलीमा सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै ‘बाहिर हल्ला चलेको जस्तो कुनै तयारी नभएको’ उल्लेख गरेका छन्।

गुरूङले प्रस्तुत गरेका कारणहरू

गुरूङले विशेष महाधिवेशन नहुने पाँच कारण सार्वजनिक गरेका छन्।
उनीहरूले भनेका कारणहरू यस्तो छन्:

  1. केन्द्रीय कार्यसमितिमा विशेष वा नियमित महाधिवेशनसम्बन्धी आधिकारिक प्रस्ताव पेश भएको छैन।
  2. विधानको धारा १७(२) अनुसार आवश्यक नियमावली तथा कार्यविधि निर्माण भइसकेको छैन।
  3. हस्ताक्षरहरूको सनाखत तथा प्रमाणीकरण प्रक्रिया पूरा भएको छैन।
  4. विशेष महाधिवेशनले सभापति वा पदाधिकारी हटाउने व्यवस्था विधानमा छैन।
  5. विधान तथा नियमावलीमा विशेष महाधिवेशनमार्फत् पार्टी सभापति हटाउने उल्लेख नै छैन।

गुरूङका अनुसार, धारा ४४ बमोजिम अविश्वासको प्रस्ताव पास भए मात्र सभापति वा पदाधिकारी हटाउन सकिन्छ। साथै, निर्वाचन नजिकिएको अवस्थालाई मध्यनजर गर्दै पार्टी एकता कायम राख्दै निर्वाचन तयारीमा लाग्नुपर्ने उनको भनाइ छ।

थापाको अडान:

महामन्त्री थापाले भने विशेष महाधिवेशन नै कांग्रेसको वैधानिक मार्ग भएको तर्क दोहोर्याउँदै समयमै महाधिवेशन भएर नयाँ नेतृत्व चयन हुने दाबी गरेका छन् । उनका अनुसार पार्टीले नयाँ सभापतिको नेतृत्वमा निर्वाचनमा जानुपर्छ र त्यसका लागि विधानअनुसार प्रक्रिया अघि बढ्नेछ।

आन्तरिक बहस तीव्र:

विशेष महाधिवेशनको विषयले कांग्रेसभित्र दुई धारलाई स्पष्ट पारेको देखिन्छ। एक पक्षले विधानबमोजिम नयाँ नेतृत्व आवश्यक रहेको तर्क गरिरहेका छन् भने संस्थापन पक्षले महाधिवेशनको कुनै औचित्य नरहेको जिकिर गर्दै आएको छ। पार्टीको आगामी रणनीति र निर्वाचन तयारी विविध टिप्पणी तथा असहमतिकाबीच अनिश्चित बनेको छ।