काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै सक्रिय नेताहरूले आज राष्ट्रिय सभागृहमा ठूलो भेला आयोजना गरेका छन्। देशभरबाट आएका महाधिवेशन प्रतिनिधि र केन्द्रीय नेताहरू सहभागी हुने सो भेला दिउँसो १ बजे सुरु हुँदैछ।
महाधिवेशन पक्षधर नेता मनोजमणि लामिछानेका अनुसार भेलाले केन्द्रीय कार्यसमितिलाई ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन तोक्न ‘अल्टिमेटम’ दिनेछ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ। शनिबारको बैठकले निर्वाचनमा जाने निर्णय गरे पनि विशेष महाधिवेशनबारे कुनै निष्कर्षमा पुग्न सकेको थिएन। बरु दल दर्ताका लागि निर्वाचन आयोगमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेपछि पार्टीभित्र असन्तुष्टि थप चर्किएको हो।
इतरपक्षका नेताहरूका अनुसार देउवा पक्षले महाधिवेशन सार्ने रणनीति बनाएको संकेत पाएपछि उनीहरू दबाबको मोडालिटीमा गएको हो। आजको भेलाले कार्यसमितिलाई निर्णय गर्न बाध्य बनाउने उद्देश्य लिएको लामिछानेले बताए।
असोज २९ मा कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित निवेदन दर्ता गराएका थिए।





