राजनीति

कांग्रेस कार्यसमिति बैठक आज, महाधिवेशन मिति प्रस्तावित

१५ मंसिर, काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजेदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। पार्टीभित्र नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा बढ्दो बहस र मतभेदकै कारण बैठक निरन्तर सर्दै आएको हो।

पछिल्ला छलफलहरूमा पुसको अन्तिम साताभित्र १५ औँ महाधिवेशन गर्ने प्रारम्भिक सहमति जुटिसकेको नेताहरूले बताएका छन्। आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २६ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। बैठकअघि उनले विभिन्न पक्षसँग अनौपचारिक परामर्श चलाइरहेका छन्।

कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए। छलफलमा उनले महाधिवेशनको मिति पुस अन्तिम सातामा प्रस्ताव गर्ने संकेत गरेका थिए।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आन्तरिक मतभेदका कारण आजसम्म निष्कर्षमा पुग्न सकेको छैन।