काठमाडौं, १८ मंसिर । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज दुई दिने औपचारिक भ्रमणका लागि भारत आउँदै छन्। नयाँ दिल्लीमा उनका आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।
भारतीय समय अनुसार पुटिन बिहीबार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। भ्रमणको क्रममा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय मुद्दाहरूमा छलफल गर्नेछन्।
यात्राबारे जानकारी दिने सरकारी अधिकारीहरूले बताए अनुसार, पुटिन नयाँ दिल्लीमा करिब २८ घण्टा बस्नेछन्। बिहीबार औपचारिक स्वागतपछि २३ औं भारत–रूस शिखर वार्ता सुरु हुनेछ। मोदीले हैदराबाद हाउसमा पुटिन र उनको प्रतिनिधिमण्डलको लागि दिवाभोजको पनि आयोजना गर्नेछन्।
भ्रमणको दोस्रो दिन पुटिन महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको छ। शिखर वार्ता सकिएपछि उनी रूसको सरकारी प्रसारकको भारत च्यानल उद्घाटन गर्नेछन्। तत्पश्चात राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछिन्। पुटिन शुक्रबार राति साढे ९ बजे भारतबाट प्रस्थान गर्ने कार्यक्रम छ।
शिखर वार्तामा भारतद्वारा रूसी कच्चा तेलको ठूलो खरिदले बढ्दो व्यापार घाटाको मुद्दा उठ्न सक्ने सम्भावना रहेको छ। साथै, अमेरिकी प्रतिबन्धको प्रभाव, युक्रेन संकट र वार्ता मार्फत युद्ध अन्त्यको प्रयासबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।
दुवै देशबीच फार्मा, कृषि, खाद्य उत्पादन, उपभोक्ता वस्तु, शिक्षा र संस्कृति क्षेत्रमा कयौं सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना छ। यसमा भारतीय श्रमिकहरूको रूसमा आवागमन र रक्षा सहयोगसम्बन्धी सम्झौता पनि समावेश हुने छ।
शिखर बैठकअघि बिहीबार भारत र रूसका रक्षामन्त्रीबीच भेटवार्ता हुनेछ। वार्तामा एस–४०० मिसाइल प्रणाली, लडाकु विमानको उन्नयन र अन्य सैन्य सामग्री खरिद सम्बन्धी विषयमा छलफल हुने भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।
पुटिन यसअघि सन् २०२१ मा भारत भ्रमणमा आइसकेका छन्। भारत–रूसबीच वार्षिक शिखर बैठकको परम्परा यसअघि २२ पटक हुँदै आएको छ।




