१८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसका एक डेमोक्र्याटिक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा माफी दिएका छन् ।
ट्रम्पले बुधबार आफ्नो लगानीको टु«थ सोसल प्लेटफर्ममा लेखेका छन्, “म यो घोषणाद्वारा टेक्सासका मेरो प्रिय सांसद हेनरी कुएलरलाई बिना शर्त पूर्ण आममाफीको घोषणा गर्दैछु । म तपाइलाई चिन्दिनँ, तर तपाइ आज राति राम्रोसँग सुत्न सक्नुहुनेछ । तपाईँको भयानक सपना अन्तमा समाप्त भएको छ ।”
कुएलर र उनकी श्रीमतीले अजरबैजान सरकारको आंशिक स्वामित्वमा रहेको तेल र ग्यास कम्पनीबाट सयौं हजार डलर घूस लिएको अभियोजनकर्ताहरूको आरोपको आधारमा षड्यन्त्र र घूसखोरीको धेरै आरोपहरूको सामना गरिरहेका छन् ।
कुएलर दम्पतीले ती आरोपहरूको खण्डन गर्दै आएका छन् । उनीहरूले उक्त मुद्दामा अप्रिलदेखि कानुनी लडाई लड्दै आएका थिए ।
कुएलरले बुधवार एक्समा एक पोस्ट गर्दै माफीको जवाफमा भने, “म राष्ट्रपति ट्रम्पलाई उहाँको जबरदस्त नेतृत्व र तथ्यहरू हेर्नको लागि समय निकाल्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छु ।”
ट्रम्पले पूर्व राष्ट्रपति बाइडेनको प्रशासनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध न्याय प्रणालीलाई प्रयोग गरेको बताए छ तर यसको प्रमाणका लागि कुनै तथ्य भने पेश गरेका छैन ।
आफ्ना विगतका कानुनी समस्याहरूलाई राजनीतिक वदलाका भावले प्रकट गरिएको भन्दै ट्रम्पले यस वर्ष दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेदेखि धेरै उच्च ओहोदाका व्यक्तिहरूको मुद्दामा सजाय मिनाहको घोषणा पनि गरे ।
होन्डुरसका पूर्व राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई सोमबार पश्चिम भर्जिनियाको जेलबाट रिहा गरिएको छ ।
ट्रम्पले गत फेब्रुअरीमा इलिनोइसका गभर्नर रड ब्लागोजेभिचलाई राजनीतिक भ्रष्टाचारको मुद्दामा माफी दिएका थिए ।





