राजनीति

राप्रपा र राप्रपा नेपाल एकताको नजिक

२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता नजिक पुगेको छ। दुवै पार्टीका शीर्ष नेताहरूबीच केही दिनदेखि घनिष्ठ छलफल जारी रहेको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौंमा आयोजित जेन्जी फ्रण्टको भेलामा केही दिनभित्र ‘खुसीको समाचार’ सुन्न पाइने संकेत दिएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि छिट्टै एकता सहमति हुने सम्भावना रहेको बताएका छन्।

वार्ता अनुसार एकता पश्चात पार्टीको नाम, विधान र चुनाव चिह्न राप्रपाकै रहने छ। हाल लिङ्देन नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई र कमल थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिह्न तीर रहेको छ। नेतृत्वको विषय भने अझै टुंगिन बाँकी रहेको स्रोतले जनाएको छ।

एकता प्रयासको पृष्ठभूमिमा राजावादी शक्तिहरूलाई समेत एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ।