राजनीति

बयान दिन अस्वीकारपछि ओली र लेखकलाई पक्राउ गर्ने आयोगको तयारी

२४ मङ्सिर, काठमाडौँ । २३ र २४ भदौका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित नीतिगत तहका अधिकारीहरूको बयान लिन नसकिएको भन्दै प्रहरी परिचालन गरेर उपस्थित गराउने तयारी गरेको छ । आयोगले ५ पुसभित्र प्रतिवेदन बुझाउनुपर्ने म्याद निकटिँदा अझै करिब आधा दर्जन उच्च अधिकारीको बयान लिन बाँकी छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार डेढ सयभन्दा बढी व्यक्तिसँग बयान सकिएको छ । अब ओली, लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान महत्वपूर्ण चरणका रूपमा बाँकी छ ।

ओलीले आयोगलाई असंवैधानिक भन्दै बयानमा नआउने अडान लिइरहेकाले आयोगले कानुनी प्रक्रिया अघि बढाई सरकारले प्रहरी परिचालन गर्ने संकेत दिएको छ । आयोगले बाँकी बयान यही साताभित्र सकेर प्रतिवेदन लेखनमा जाने योजना बनाएको छ ।
२३–२४ भदौका घटनामा सेना, प्रहरी र प्रशासनको भूमिकाबारे उठेको प्रश्नका आधारमा आयोग ‘फिल्ड भ्रमण’ र प्रमाण संकलन पनि गरिरहेको छ । आवश्यक परे म्याद थपका लागि सरकारले अनुरोध गर्न सकिने आयोगले जनाएको कान्तिपुर पत्रिकाले बताएको छ ।