राजनीति

एमाले महाधिवेशनमा सुरक्षा सतर्कता, मञ्च वरपर कुकुरको निगरानी

२७ मङ्सिर, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । समारोह स्थलको सुरक्षा सुनिश्चित गर्न विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

विस्फोटक पदार्थ तथा हतियार पहिचान गर्न सक्ने कुकुर र बम डिटेक्टर उपकरणसहितका सुरक्षाकर्मीहरू बिहानैदेखि सक्रिय छन् । प्रहरीले उद्घाटन मञ्च तथा कार्यक्रम स्थल वरपर नियमित रूपमा कुकुरमार्फत निगरानी गरिरहेको छ ।

अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको सल्लाघारीस्थित सार्वजनिक जग्गामा महाधिवेशनको उद्घाटन समारोह आयोजना हुँदैछ । एमालेका अनुसार उद्घाटन कार्यक्रम आज मध्याह्न १२ बजेदेखि सुरु हुनेछ ।

यसैबीच, कार्यक्रम स्थल वरपर आज बिहानैदेखि पार्टी कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति बढ्दै गएको छ । सुरक्षाकर्मीहरूले कार्यक्रम शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने तयारी पूरा भएको जनाएका छन् ।