२८ मंसिर, काभ्रेपलाञ्चोक । स्थानीयवासीको अवरोधका कारण आठ दिनदेखि बन्द रहेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि पुनः सञ्चालनमा आएको छ । कोदारीस्थित इको पहिरो क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको भन्दै स्थानीयले मंसिर २० गतेदेखि सडक अवरुद्ध गरेका थिए ।
सडक निर्माण र पहिरो नियन्त्रणका लागि टेन्डर आह्वानको सूचना प्रकाशित भएपछि स्थानीय पालिका, स्थानीयवासी र यातायात व्यवसायीबीच भएको छलफलपछि स्थानीयले आफैं राजमार्ग खुलाएका इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । सडक डिभिजन कार्यालय चरिकोटले ४८ करोड ४९ लाख रुपैयाँ लागतको टेन्डर निकालेको छ ।
सडक खुलेसँगै सीमा क्षेत्रमा रोकिएका कन्टेनर र विद्युतीय सवारी भन्सार यार्डतर्फ जान थालेका छन् । तर, स्थानीयले अबको ६० दिनभित्र निर्माण कार्य सुरु नभए पुनः सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।





