२८ मंसिर, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र अब कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेकी छन्।
आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै शाक्यले आफू चुनावी प्रतिस्पर्धाबाट अलग रहने स्पष्ट पारेकी हुन्। उनले भनिन्, “म अब चुनाव उठ्दिनँ, मलाई भोट हाल्नु पर्दैन। तर पार्टीलाई बलियो बनाउने जुनसुकै काम गर्न म सधैं तयार छु।”
उनले पार्टी सञ्चालन विधि र विधान अनुसार हुनुपर्नेमा जोड दिँदै नेताहरूले फराकिलो सोच र जिम्मेवारी देखाउनुपर्ने बताइन्। पार्टीलाई व्यक्तिकेन्द्रित नभई नीतिमा आधारित बनाउनुपर्ने उनको धारणा छ।
शाक्यले अध्यक्ष केपी शर्मा ओलीसँग विगतमा भएको संवाद स्मरण गर्दै ७० वर्ष पुगेपछि सक्रिय भूमिकाबाट अलग हुने कुरा आफूले अघि नै उठाएको बताइन्। त्यसक्रममा अध्यक्ष ओलीले ‘सँगै बिदा लिऔँला’ भन्ने प्रतिक्रिया दिएको उनले उल्लेख गरिन्।
पार्टी आफू बिना चल्दैन भन्ने सोचबाट मुक्त हुन आवश्यक रहेको बताउँदै उनले आम जनताको चाहना र चासोलाई बेवास्ता गर्दै विधान संशोधनतर्फ नलाग्न पनि नेताहरूलाई आग्रह गरिन्।





