२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान प्रक्रिया जारी छ। महाधिवेशन प्रतिनिधिहरू लाइनमा बसेर मत खसालिरहेका छन् भने नेता तथा समर्थकहरू आ–आफ्नो पक्षका उम्मेदवारलाई भोट माग्दै सक्रिय छन्।
केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै पक्षले आफ्ना प्यानलका उम्मेदवारहरूको नामावली वितरण गर्दै मतदातालाई आग्रह गरिरहेका छन्।
यसैबीच, मतदान केन्द्र परिसरबाट एक जना व्यक्ति पक्राउ परेका छन्। प्रहरीले अछामका शंकर सावदलाई नियन्त्रणमा लिएको हो। सावदले प्यानलका उम्मेदवारहरूको नामावली फेरबदल गरिएको सूची तयार गरी प्रचार गरेको आरोप लागेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





