अन्तर्राष्ट्रिय

स्विट्जरल्यान्डको स्की रिसोर्टस्थित बारमा आगलागी, मृत्यु संख्या ४० पुग्यो

१८ पौष, स्विट्जरल्यान्ड । स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट क्रान्स–मोन्टानास्थित ‘ली कन्स्टेलिसन’ नामक बारमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समय अनुसार बिहीबार बिहान करिब १:३० बजे आगलागी भएको हो। भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो नियन्त्रणका लागि रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र करिब १५० उद्धारकर्मी परिचालन गरिएको थियो।

अधिकारीहरूका अनुसार मृतक र घाइतेको ठ्याक्कै संख्या अझै यकिन हुन सकेको छैन। धेरैजसो व्यक्ति आगोमा जलेर घाइते भएका छन्। भालिसको सियोन अस्पतालमा मात्रै ६० जनालाई भर्ना गरिएको छ, जसमध्ये ‘धेरैजना अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

गम्भीर घाइतेलाई स्विट्जरल्यान्डका अन्य सहरहरू लोजान, ज्युरिख र जेनेभाका विशेष बर्न्स युनिट भएका अस्पतालमा सारिएको छ। लोजान युनिभर्सिटी अस्पतालमा २२ जना र ज्युरिख युनिभर्सिटी अस्पतालमा १२ जनाको उपचार भइरहेको छ।

आगलागीमा विभिन्न देशका नागरिक प्रभावित भएका छन्। इटालीको विदेश मन्त्रालयले १६ जना इटालियन नागरिक बेपत्ता रहेको र १२ देखि १५ जनाले अस्पतालमा उपचार गराइरहेको जनाएको छ। फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको र मृतकमध्ये फ्रान्सेली पनि हुन सक्ने सम्भावना नकार्न नसकिने बताएको छ।

तीन जना गम्भीर घाइते इटालियन नागरिकलाई ठूलो बर्न्स युनिट रहेको मिलानको निघुवार्दा अस्पतालमा सारिँदैछ। उनीहरूको शरीरको ३०–४० प्रतिशत भाग जलेको इटालियन अधिकारीहरूले बताएका छन्।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आगलागीका बेला बारभित्र कति जना थिए भन्ने अझै स्पष्ट नभएको बताए। राज्य काउन्सिलर स्टेफान गान्जरका अनुसार नयाँ वर्षको पार्टीका कारण बारमा युवाहरूको ठूलो भीड थियो।

घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। चम्किने फ्लेयरसहितका स्याम्पेन बोतल वा साँघुरा सिँढीहरू आगलागीको कारण हुन सक्ने हल्लाबारे प्रश्न उठे पनि अधिकारीहरूले अनुसन्धान नसकिएसम्म केही पुष्टि गर्न नसकिने बताएका छन्।

मृतक र घाइतेको पहिचान प्रक्रिया जटिल रहेकाले यसमा हप्तौँ लाग्न सक्ने बताइएको छ। पीडित परिवारलाई सहजीकरण गर्न +४१ ८४८ ११२ ११७ नम्बरको हेल्पलाइन सञ्चालनमा ल्याइएको छ।