१८ पुस, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन नजिक जोगबुढा नदीमा फसेको बाघको बच्चा (डमरू)को समयमै उद्धार हुन नसक्दा मृत्यु भएको छ।
करिब दुई महिनाको डमरू बुधबार बिहान नदीको हिलो र पानीमा फसेको अवस्थामा भेटिएको थियो। स्थानीयले तत्काल डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जानकारी गराए पनि उद्धारमा ढिलाइ भएको स्थानीयको आरोप छ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण डमरूको मृत्यु भएको दाबी गरेका छन्। उनका अनुसार निकुञ्जका वार्डेनको अनुमति नपाएको भन्दै सशस्त्र प्रहरीले उद्धार टोलीलाई घटनास्थल जान रोकेको थियो।
तर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले उद्धारमा ढिलाइ भएको भन्ने आरोप अस्वीकार गरेका छन्। दिउँसो २ बजेतिर सूचना पाएपछि चिकित्सकसहितको प्राविधिक टोली घटनास्थल पुगेको र माउ बाघ वरिपरि रहेकाले उसैले बच्चा लैजाओस् भन्ने उद्देश्यले टोलीले रेकी गरेर बसेको तर कुर्दाकुर्दै डमरूको मृत्यु भएको उनको भनाइ छ।
हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४४ वटा बाघ संरक्षणमा रहेका छन्।





