अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणमा भेनेजुएलामा कम्तीमा ४० को मृत्यु, मादुरो दम्पती नियन्त्रणमा

२० पुस, काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ । शनिबार अमेरिकी सेनाले राजधानी काराकाससहित विभिन्न शहरहरूमा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो ।

न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक अनुसन्धानात्मक रिपोर्टअनुसार, अमेरिकी सेनाले राष्ट्रपति मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले व्यापक सैन्य अभियान सञ्चालन गरेको थियो, जसमा सर्वसाधारण र सैनिक दुवैको ज्यान गएको उल्लेख गरिएको छ ।

नाम नखुलाउने शर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘अमेरिकी आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ, जसमा सर्वसाधारण र सुरक्षाकर्मी दुवै छन्।’

अमेरिकी अधिकारीहरूका अनुसार, उक्त आक्रमणमा १५० भन्दा बढी अमेरिकी सैन्य विमान प्रयोग गरी भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको थियो । त्यसपछि हेलिकोप्टरमार्फत स्थल सेनाको परिचालन गर्दै मादुरो बसोबास गरिरहेको निवासमा आक्रमण गरिएको थियो ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए । उनले यसलाई ‘रातारात सम्पन्न सफल अपरेसन’ भन्दै सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण नभएसम्म भेनेजुएलाको प्रशासन अमेरिकाले सञ्चालन गर्ने बताएका छन् ।

हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् ।

यसैबीच, न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले राष्ट्रपति मादुरो र उनकी पत्नी फ्लोरेसमाथि कोकिन तस्करीलगायत विभिन्न आपराधिक अभियोग लगाउँदै अभियोगपत्र सार्वजनिक गरेका छन् ।

तर आलोचकहरूले भने अमेरिकाको यो सैन्य हस्तक्षेप अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको, अमेरिकी कंग्रेसलाई छलेर गरिएको र यसले भेनेजुएला मात्र नभई समग्र क्षेत्रीय स्थायित्वमा गम्भीर खतरा निम्त्याउने चेतावनी दिएका छन् ।