राजनीति

सुमन सायमीको नयाँ राजनीतिक यात्रा, नेकपाबाट प्रतिनिधिसभा चुनावको तयारी

२९ पुस, काठमाडौं । सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने तयारीमा छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा रहेका सायमी चुनावको केही समयअघि नेकपामा औपचारिक रूपमा आबद्ध हुन लागेका हुन्।

सायमीले आफू अहिले नेकपासँग एकताको प्रक्रियामा रहेको पुष्टि गरेका छन्। उनले भोलि एकता कार्यक्रम हुने जानकारी दिँदै भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा एकता सभा आयोजना गरिएको बताए।

२०७९ को स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए, जहाँ उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। सो निर्वाचनपछि उनी स्वतन्त्र अभियानमा सक्रिय रहँदै वैकल्पिक र स्वतन्त्र राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने प्रयासमा जुटेका थिए।

यसैगरी, २०७९ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सायमीले प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए। उक्त चुनावमा उनले ६ हजार १७९ मत पाएका थिए।

पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध भई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब भने आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपाको तर्फबाट अगाडि बढ्ने तयारी गरेका छन्।

५२ वर्षीय सायमी काठमाडौंको कालीमाटी निवासी हुन्। काठमाडौंका रैथाने समुदायमा उनी परिचित नेता मानिन्छन्।