४ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छन् ।
नेता कोइरालाले आज यहाँ आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका हुन् । “मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्न,” उनले भने, “पार्टी कठिन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई सङ्कटबाट जोगाउनुपर्ने आवश्यकता छ ।” नेता डा कोइरालाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभए पनि देश र लोकतन्त्र सङ्कटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राखे। उनले नेता तथा कार्यकर्तालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे ।
पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने नेता कोइरालाको भनाइ थियो ।
आज भएको काठमाडौको बत्तिसपुतलिस्थित एक पार्टी प्यालेसमा पार्टीका बरिष्ठ नेता डा कोईराला निकट नेताहरुसँगको अन्तरकृयामा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
उनी निकटका नेताहरुले डा कोईरालालाई देउवा पक्ष र गगन पक्ष मिलाएर सिंगो नेपाली काँग्रेसको नेतृत्व गर्न सुझाव दिएका थिए । नेताहरुले डा कोईरालाले खेलेको भुमिका गलत नभएको भन्दै अबका दिनमा भने फरक तरिकाले अगाडी बढ्नुपर्ने बाध्यता हुने बुझ्न सुझाव दिएका थिए ।






