५ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बन्ने तयारी गरेपछि उनले मनोनयन दर्ताअघि नै मन्त्री पद त्याग गरेका हुन् ।
मन्त्री गुप्ताले आफूले प्रधानमन्त्रीलाई राजीनामाबारे औपचारिक जानकारी गराइसकेको बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, “मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेको छु, अब प्रक्रिया मिलाउन मात्रै बाँकी छ ।”
उनले अब पूर्ण रूपमा चुनावी तयारीमा होमिने बताएका छन् । गुप्ता आफूलाई जेन–जी पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै सुशीला कार्की नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्रीका रूपमा सहभागी भएका थिए ।
उनको राजीनामासँगै मन्त्रालयको जिम्मेवारी कसलाई दिइने भन्नेबारे सरकारबाट औपचारिक निर्णय आउन बाँकी रहेको छ ।





