समाचार

पाल्पा–२ मा एमालेको टिकट ठाकुर गैरेलाई, अन्तिम क्षणमा निर्णय फेरियो

६ माघ, पाल्पा । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट ठाकुर गैरेलाई दिएको छ । पार्टीका पाल्पा अध्यक्ष ओमबहादुर घर्तीका अनुसार प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले आज बिहान गैरेको टिकट लिएर पाल्पा आउने जानकारी दिएका हुन् ।

घर्तीले बिहानसम्म रामबहादुर राउतको टिकट टुंगो लागेको भए पनि अन्तिम समयमा निर्णय फेरिएर गैरेलाई टिकट दिइएको बताए । ठाकुर गैरेले पनि आफू उम्मेदवार बनेको पुष्टि गरेका छन् ।

यसअघि शनिबार साँझ पाल्पा–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको थियो । तर आइतबार रूपन्देही–२ बाट पौडेललाई एकल सिफारिस गर्ने निर्णय भएपछि पाल्पा–२ मा रामबहादुर राउतले टिकट पाएका थिए ।

अघिल्लो निर्वाचनमा विजयी भएका ठाकुर गैरेलाई टिकट नदिई ओली निकट मानिने राउतलाई उम्मेदवार बनाइएको भन्दै पार्टीभित्र आलोचना चर्किएको थियो । अन्ततः पार्टी नेतृत्वले निर्णय सच्याउँदै गैरेलाई नै टिकट दिएको हो ।