९ माघ, लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रूपन्देहीको विकासलाई प्रमुख प्राथमिकता राख्दै योजना कार्यान्वयन गर्ने बताएका छन् । निर्वाचन क्षेत्रमा आज निर्वाचन परिचालन समिति कार्यालयको उद्घाटन गर्दै उनले मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गरे ।
उनले भौतिक पूर्वाधारका साथै सामाजिक, मानवीय विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारी सृजना आफ्नो प्रमुख प्राथमिकता रहने उल्लेख गरे । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं २ बाट एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले यस क्षेत्रको भौतिक विकास देशका लागि सिकाइको नमूना बन्ने बताए । उनले आगामी दिनमा नागरिकको आयस्तर वृद्धि हुने किसिमका आयोजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर अगाडि बढ्ने स्पष्ट पारे ।
निर्वाचन परिचालन कार्यालयको औपचारिक उद्घाटनसँगै एमाले नेता भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा राजु गुरुङ रहेका छन् । निर्वाचन परिचालन समितिका संयोजक श्रेष्ठले रूपन्देहीको सुकुम्बासी समस्या समाधान गर्न एमाले सधैँ प्रतिबद्ध रहेको बताए ।





