१४ माघ, काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई कम्युनिस्ट आन्दोलन सुदृढ गर्न एकताको प्रक्रियामा सहभागी हुन पुनः आग्रह गरेका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले अहिलेको राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य आवश्यकता भएको बताए। उनले विप्लव नेतृत्वको दललाई आत्मसमीक्षा गर्दै मूलधारको राजनीतिमा फर्किन आह्वान गरे।
दाहालका अनुसार समाजवादी मोर्चाको समयदेखि नै एकताका विषयमा गम्भीर संवाद र छलफल हुँदै आएको थियो। पछिल्लो चरणमा एकता लगभग टुंगिएको जस्तो देखिए पनि विभिन्न कारणले त्यो सफल हुन नसकेको उनले बताए।
जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको टिप्पणी गर्दै दाहालले मुख्य नेतृत्व नै कठिन परिस्थितिमा फसेको जस्तो आफूलाई लागेको उल्लेख गरे। आफूहरूले पनि आत्मसमीक्षा गर्दै एकताको बाटो रोजेको भन्दै उनले विप्लव पक्षका लागि अझै अवसर बाँकी रहेको बताए।
वास्तविक राजनीतिक घर यही भएको उल्लेख गर्दै दाहालले यताउता भौंतारिँदा कुनै उपलब्धि नहुने धारणा राखे। आत्मसमीक्षा गरेर एकताको प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे।





