काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न समय सकिँदै गएको भन्दै वार्तामा नआए भयावह आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह गरेका हुन् ।
ट्रम्पका अनुसार अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको छ, जुन भेनेजुएलामा पठाइएको सैन्य टोलीभन्दा पनि ठूलो हो । उनले आवश्यक परे खाडीमा तैनाथ सैन्य शक्तिले तीव्र र कठोर कारबाही गर्न सक्ने बताएका छन् ।
यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानी सशस्त्र बल कुनै पनि जमिन वा समुद्रबाट हुने आक्रमणको तत्काल र शक्तिशाली जवाफ दिन तयार रहेको चेतावनी दिएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ ।
यसैबीच, इरानभित्र बढ्दो अशान्ति र प्रदर्शन दमनका कारण शासन कमजोर अवस्थामा पुगेको अमेरिकी अधिकारीहरूको दाबी छ । मानवअधिकार संस्थाहरूले हालको हिंसात्मक अवस्थाबाट हजारौँ मानिसको ज्यान गएको दाबी गरेका छन् ।
यद्यपि इरानले भने दबाबरहित र निष्पक्ष वातावरणमा परमाणु सम्झौता गर्न आफू तयार रहेको जनाएको छ । इरानका उप–विदेशमन्त्रीका अनुसार अमेरिका र इरानबीच औपचारिक वार्ता सुरु नभए पनि आपसी सन्देश आदानप्रदान भने भइरहेको छ ।





