१६ माघ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान नाइट बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६६० नम्बरको बस बिहान करिब ३:१० बजे ‘घुमाउने’ भन्ने स्थानमा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी घाइतेहरुलाई भरतपुर र मुग्लिनका विभिन्न अस्पतालमा उपचारका लागि पठाएको थियो। मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेजमा १३ जना, नयाँ मेडिकल कलेजमा ४ जना तथा जनता केयर अस्पताल मुग्लिनमा ६ जनाको उपचार भइरहेको छ।
बस पल्टिएपछि केही समय अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक अहिले पूर्ण रूपमा खुलिसकेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





