समाचार

राति बालेनको घरमा तोडफोड, प्रहरीद्वारा अनुसन्धान सुरु

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित निवासमा तोडफोड भएको छ। शुक्रबार राति अज्ञात व्यक्तिहरूले घरको गेटमा रहेको ग्रिल भाँचेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै टोली खटिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले गेट तोडिएको अवस्थामा फेला परेको र चोरी गर्ने उद्देश्यले घटना भएको हुनसक्ने आशंका गरिएको जानकारी दिए।

घटनाका बेला घरमा को–को थिए भन्ने विषयमा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। साथै, घरभित्र कुनै सामान चोरी भएको हो वा होइन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।

झापा–५ बाट निर्वाचनमा सहभागी भएका बालेन हाल चुनावी प्रचारका सिलसिलामा कर्णाली प्रदेशमा रहेका छन्। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि आसपासका सीसीटीभी फुटेज तथा अन्य प्रमाण संकलन गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।