२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ । रुसबाट तेल खरिद गरेको आरोपमा भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि हटाइनेछ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै भारतले आफ्ना कर तथा गैर–कर व्यापारिक अवरोधहरू शून्यमा झार्न सहमति जनाएको दाबी गरेका छन् । साथै भारतले रुसबाट तेल खरिद रोक्ने र अमेरिकाबाट थप ऊर्जा सामग्री किन्ने प्रतिबद्धता जनाएको पनि उनले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको फोनवार्तामा व्यापारका साथै रुस–युक्रेन युद्धबारे पनि छलफल भएको थियो । ट्रम्पका अनुसार भारतले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने सहमति जनाएको छ ।
सम्झौतापछि अमेरिकी सेयर बजारमा सामान्य सुधार देखिएको छ । उता, भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत सम्झौताप्रति खुशी व्यक्त गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । “दुई ठूला लोकतन्त्र र अर्थतन्त्रहरू मिलेर काम गर्दा दुवै देशका जनताले लाभ पाउँछन्,” मोदीले लेखेका छन् ।
यसअघि अमेरिकाले भारतमाथि कुल ५० प्रतिशतसम्म भन्सार कर लगाएको थियो, जुन एसियाली देशहरूमध्ये उच्च मानिन्थ्यो । ती करका कारण भारतको अमेरिका निर्यातमा ठूलो गिरावट आएको थियो । यही पृष्ठभूमिमा भारतले युरोपेली संघसँग समेत हालै ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता गरेको छ, जसले सन् २०३२ सम्म युरोपेली निर्यात दोब्बर बनाउने अपेक्षा गरिएको छ ।





