२० माघ, बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको ट्याक्टर आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्।
मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सवार बस मंगलबार बिहान दुर्घटनामा परेको हो। नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज, भैरहवामा र ४ जनाको भीम अस्पताल, भैरहवामा उपचार भइरहेको छ भने ४ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार बिहानपख लागेको बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। बस र ट्याक्टरका दुवै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





