९ साउन, काठमाडौं । रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका ३ बालिकाले अब उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्।
वर्षात्को समयमा रेनकोट ओढेर विद्यालय जाँदै गरेको भिडियो सार्वजनिक भएपछि उनीहरूलाई सहयोगको पहल गरिएको हो।
रुन्टीगढी गाउँपालिका–४ टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई हाल अध्ययनरत एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कुलले कक्षा ६ सम्म निःशुल्क पढाउने प्रतिबद्धता जनाएको छ। त्यसपछि कक्षा ७ देखि स्नातक तहसम्मको अध्ययनको जिम्मा गाउँपालिकाले लिने जनाएको छ।
हाल तीनमध्ये सियाँ ३ वर्षकी र दुई मनजीता ५ र ६ वर्षका छन्। उनीहरू सुर्पाल बजारस्थित विद्यालयमा नर्सरीदेखि कक्षा १ सम्म अध्ययनरत छन्।
समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा गाउँपालिका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन लगायतको टोली बालिकाहरूको घरमै पुगेर अभिभावकसँग छलफल गरी यस्तो सहमति भएको हो।
बालिकाका बुवाहरू रोजगारीका लागि विदेशमा रहेका छन्। अभिभावकसँगको सहमतिपछि उनीहरूको सम्पूर्ण शैक्षिक जिम्मेवारी सुनिश्चित गरिएको हो।





