समाचार

बालेनको पक्षमा सादा पोशाकका प्रहरीले मत मागेको उजुरी, आयोगद्वारा छानबिन आदेश

२० माघ, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले घटनाबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा बालेनकी श्रीमती सविना काफ्लेले केही दिनअघि झापा–५ मा घरदैलो अभियान सञ्चालन गरेकी थिइन्। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित उनी मतदातासँग बालेनका लागि मत माग्दै हिँडेकी थिइन्।

आयोगमा परेको उजुरीमा सो टोलीसँग सादा पोशाकका प्रहरीसमेत सहभागी रहेको र उनीहरूले पनि मत मागेको आरोप लगाइएको छ। उजुरीकर्ताले यससम्बन्धी श्रव्यदृश्य सामग्री आयोगमा बुझाएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार ‘सादा पोशाकका प्रहरी बालेनका लागि भोट माग्दै गरेको’ विवरणसहितको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आचारसंहिता अनुगमन अधिकृतलाई पत्राचार गरिएको हो। पत्रमा झापा–५ मा बालेनको प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोशाकका प्रहरी खटिएका थिए वा थिएनन् भन्ने विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

निर्वाचन आयोगले घटनाको विस्तृत अध्ययनपछि आवश्यक निर्णय लिने जनाएको छ।