समाचार

चुनीखेलमा आगलागीः २४ परिवार विस्थापित, ७ जनाको उद्धार

२१ माघ, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीखेल नयाँबस्तीमा मंगलबार राति आगलागी हुँदा २४ परिवार विस्थापित भएका छन् । आगलागीमा परेका स्थानबाट ७ जनाको सकुशल उद्धार गरिएको छ ।

मंगलबार राति करिब पौने ११ बजे सुरु भएको आगो सवा १ बजेतिर काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका तथा टोखा नगरपालिकाका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा बराबरको लामो टहरा पूर्ण रूपमा नष्ट भएको छ । ती टहरामा विभिन्न जिल्लाबाट आएका परिवारहरू भाडामा बस्दै आएका थिए । आगलागीपछि सबै परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारहरूलाई नजिकै रहेका अन्य टहरामा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ । साथै, आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

प्रारम्भिक रूपमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । आज प्रहरीको उपस्थितिमा मुचुल्का उठाइने र क्षतिको यकिन विवरण संकलन गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।