समाचार

रकम अभावले स्वास्थ्य बीमा प्रभावित, प्रधानमन्त्रीले बोलाइन् बैठक

२१ माघ, काठमाडौं । स्वास्थ्य बीमामा देखिएका समस्याप्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गर्दै सरोकारवाला पक्षहरूको बैठक बोलाएकी छन्। स्वास्थ्य बीमाको अवस्था र समाधानका उपायबारे छलफल गर्न बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो साढे १ बजे बैठक तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हाल रकम अभावका कारण सबै बिरामीले स्वास्थ्य बीमाको सेवा सहज रूपमा पाउन नसकेको गुनासो बढ्दै गएको छ। देशका ठूला अस्पतालहरूले समेत बीमा सेवा दिन नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी नपाएको जनाउँदै बीमा सेवामार्फत उपचार दिन नसक्ने सूचना निकालेको थियो। यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिन थालेपछि स्वास्थ्य बीमा बोर्डले गत सोमबार नयाँ व्यवस्था सार्वजनिक गरेको छ।

बोर्डका अनुसार एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्रै उपचार सुविधा उपलब्ध गराइनेछ। सो सीमा पार भएपछि मात्र अस्पताल भर्ना, ल्याब परीक्षण तथा आकस्मिक उपचारको सुविधा लागू हुनेछ। उक्त व्यवस्था आगामी १ फागुनदेखि कार्यान्वयनमा आउने जनाइएको छ।

स्वास्थ्य बीमामा देखिएको सेवा अवरोध र नयाँ व्यवस्थाबारे आजको बैठकमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।