समाचार

टर्किस एयरलाइन्स जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

२१ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुल तर्फ उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ। विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार उडेको ४ मिनेटमै ‘टीएचवाई ७२७’ उडान नम्बरको जहाजमा समस्या देखा परेको हो।

सिटौलाले बताए अनुसार, जहाजको चालकदलले आगलागी देखेपछि दायाँ इन्जिन बन्द गरी पश्चिम दिशा तर्फ होल्डमा राखेको थियो। उक्त ‘ए३३०-३०३’ वाइडबडी जहाजमा २२५ यात्रु सवार थिए।

आगलागीको खबर पाएलगत्तै त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो। आवश्यक सुरक्षा तयारी, जस्तै दमकल र एम्बुलेन्स, तत्काल तयार पारिएको थियो।

बादमा टर्किस एयरलाइन्सको चालकदलले जहाज भारतको कोलकातामा डाइभर्ट गर्ने निर्णय गरे र त्यसअनुसार जहाजले बायाँ इन्जिन मात्र प्रयोग गर्दै कोलकातामा सुरक्षित अवतरण गरेको छ। अहिले त्रिभुवन विमानस्थल पनि सामान्य अवस्थामा सञ्चालनमा आएको छ।