समाचार

बलात्कार आरोपका फरार पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

२४ माघ, काठमाडौं । बलात्कार आरोप लागेका पूर्वप्रहरी कर्मचारी भुपेन्द्र सिंह ठगुन्ना पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतको बैंग्लोरबाट पक्राउ गरेको हो।

पक्राउपछि ठगुन्नालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेनद्रनगर, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। उनीविरुद्ध जाजरकोटकी एक युवतीले जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।

पीडित युवती गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा ठगुन्नामाथि कारबाहीको माग गर्दै अनशनमा बसिरहेकी थिइन्। ठगुन्ना दार्चुलाको नौगाड गाउँपालिका–२ सुन्डमुन्ड घर भई हाल काठमाडौंको रामशाहपथमा बस्दै आएका थिए।

उनीविरुद्ध जिल्ला अदालत, सुर्खेतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो। पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको हो।

पीडित युवतीले २५ मंसिर २०८० मा ठगुन्नाविरुद्ध पहिलोपटक जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन्। त्यसबेला प्रहरी सेवामा रहेका ठगुन्ना निलम्बनमा परेका थिए भने जिल्ला अदालतले उनलाई २ लाख ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

पछि गत जेठमा पुनः आफूमाथि बलात्कार भएको दाबी गर्दै युवतीले ७ असोजमा अर्को जाहेरी दिएकी थिइन्। प्रहरीले १० असोजमा मुद्दा दर्ता गरी जबरजस्ती करणीसम्बन्धी अनुसन्धान अघि बढाएको थियो। मुद्दा दर्ता हुँदासम्म पीडित करिब तीन महिनाको गर्भवती भइसकेकी थिइन्।

यसैबीच, सर्वोच्च अदालतबाट ताप्लेजुङ सरुवा भएका ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर नभएपछि कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा उनलाई सेवाबाट हटाएको थियो। प्रहरीका अनुसार लामो समयसम्म हाजिर नभएकै कारण उनलाई सेवाबाट बर्खास्त गरिएको हो।