२६ माघ, धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना अझै फरार रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको हो। उनीहरू घर्तीको हत्यामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा प्रत्यक्ष वा सहयोगीको भूमिकामा रहेका अन्य चार जना भने फरार छन्। फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका राजेन्द्र डडाल रहेका छन्।
पक्राउ परेकी दिपिका पाल आशिक पालकी कान्छी श्रीमती रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानबाट अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको विषयलाई लिएर विवाद सुरु भएको र सोही क्रममा आशिक पालले प्रहरी हवलदार घर्तीमाथि कुटपिट गरेको देखिएको छ।
पक्राउ परेकाहरूले दिएको बयानमा आशिक पाल र उनका भाइ मनिस पालले कुटपिट गरी हत्या गरेको उल्लेख भए पनि त्यसको पुष्टि प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको प्रमाण भेटिएको एसएसपी विष्टले जानकारी दिए।
घटनापछि फरार रहेका अभियुक्तहरूको खोजी कार्य तीव्र बनाइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।





