समाचार

तामाकोशीमा बस दुर्घटना: मृतक संख्या १२ पुग्यो, खोजी कार्य जारी

२७ माघ, काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। खोजी कार्यका क्रममा थप शव फेला परेपछि मृतक संख्या बढेको हो।

रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाका अनुसार बस खसेको स्थानमा खोजी गर्दा ६ वटा शव भेटिएका छन्। यससँगै उपचारका क्रममा अस्पतालमा मृत्यु भएका ६ जना सहित कुल मृतक संख्या १२ पुगेको उनले जानकारी दिए।

काठमाडौंको जडीबुटीबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछापको मचानेटार भन्ने स्थानबाट तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। सडकबाट खसेको बस नदीमा डुबेको अवस्थामा भेटिएको छ।

दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। एक जनाको अवस्था सम्बन्धी विवरण भने खुल्न सकेको छैन।

अरनिको यातायात समितिका अनुसार बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोबाट थप यात्रु चढेका थिए कि थिएनन् भन्ने विषयमा यकिन हुन सकेको छैन।

सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको सीडीओ थापाले बताए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।