१ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आगमन गर्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ। राजावादी समर्थकहरू विमानस्थलको गेट बाहिर भेला भई नाराबाजी गरिरहेका छन्। उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाएका छन्।
समर्थकहरूको बाक्लो उपस्थिति र सम्भावित अवाञ्छित गतिविधि रोक्न स्थानीय प्रशासनले विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ। यसका कारण विमानस्थल पुगेका यात्रुहरू समस्यामा परेका छन्। धेरै यात्रुहरू हतार–हतार सुटकेश घिसार्दै गेट हुँदै भित्र प्रवेश गरिरहेका देखिन्छन्।
यसैबीच, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि केहीबेर अघि विमानस्थल पुगेका छन्। उनी समर्थकहरूलाई बाहिरै राखेर विमानस्थलभित्र प्रवेश गरेका छन्। समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने जानकारी दिँदै उनी भित्र प्रवेश गरेका हुन्।
पूर्वराजा शाहलाई विमानस्थलबाट निर्मल निवास लैजाने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सम्पूर्ण सुरक्षा व्यवस्था मजबुत बनाइएको छ र काठमाडौंका चोक–चोकमा सुरक्षाकर्मी तैनाथ छन्।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्। उनको आगमनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजावादी समूहहरूले स्वागतको तयारी गरिरहेका छन्।





