१० फागुन, काठमाडौं । कृषिप्रधान मुलुक भए पनि नेपालमा धान तथा चामल आयात निरन्तर बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको सात महिनामा मात्र २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल विदेशबाट भित्रिएको तथ्यांक सार्वजनिक भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा २५ अर्ब ३७ करोड ५२ लाख रुपैयाँको आयात भएको थियो। समग्र रकममा सामान्य वृद्धि देखिए पनि यस वर्ष धानभन्दा सिधै तयारी चामल आयात गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ।
अघिल्लो वर्ष सात महिनामा १४ अर्ब ५१ करोड रुपैयाँको ३ लाख ८१ हजार ६ सय २२ टन धान आयात भएको थियो। तर चालु वर्षमा धान आयात घटेर १२ अर्ब ७४ करोड रुपैयाँको ३ लाख ४८ हजार १ सय ३७ टनमा सीमित भएको छ।
यसको विपरीत तयारी चामल आयात उल्लेख्य रूपमा बढेको छ। गत वर्ष ६ अर्ब २० करोड रुपैयाँ बराबरको ९२ हजार ७ सय ५१ टन चामल आयात भएकोमा यस वर्ष ७ अर्ब २४ करोड रुपैयाँको १ लाख १३ हजार ७ सय ९३ टन चामल भित्रिएको छ।
महँगो मानिने बासमती चामलको आयात पनि बढ्दो क्रममा छ। अघिल्लो वर्ष ४० हजार ४ सय ४९ टन (४ अर्ब ५७ करोड रुपैयाँ) आयात भएकोमा यस वर्ष ४६ हजार १३ टन (५ अर्ब १२ करोड रुपैयाँ) पुगेको छ।
मुख्य चामलबाहेक कनिका र धानको बिउ आयातमा अस्वाभाविक वृद्धि देखिएको छ। गत वर्ष ८८ टन कनिका आयात भएकोमा यस वर्ष ६ हजार २ सय ६८ टन पुगेको छ। धानको बिउ आयात पनि १ सय ८० टनबाट बढेर २ सय ७२ टन पुगेको छ। खैरो चामलको आयात भने न्यून मात्रामा भए पनि अघिल्लो वर्षको तुलनामा केही बढेको छ।
यता आयात रकम बढ्दा पनि भन्सार राजस्व भने घटेको छ। गत वर्ष सात महिनामा धानचामल आयातबाट २ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। तर चालु वर्ष सोही अवधिमा राजस्व घटेर १ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। विशेषगरी धान आयात घट्नु र राजस्व दरमा आएको परिवर्तनले सरकारको आम्दानीमा असर परेको देखिन्छ।
मुख्य खाद्यान्नमै अर्बौं रुपैयाँ बाहिरिनु केवल व्यापार घाटा बढ्ने विषय मात्र होइन, कृषिमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्यका लागि पनि चुनौतीपूर्ण संकेतका रूपमा हेरिएको छ।





