१८ फागुन, काठमाडौं । रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा उत्साह र उमंगका साथ मनाइँदै छ । फागु पूर्णिमाको अवसरमा सरकारले पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ भने तराई तथा भित्री मधेशका जिल्लामा भोलिपल्ट होली मनाउने परम्परा रहेको छ ।
फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने होली असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा आपसी रिसराग भुलेर आफन्त, साथीभाइ र परिवारजनसँग अबिर र रंग साटासाट गर्दै प्रेम, सद्भाव र मेलमिलापको सन्देश प्रवाह गर्ने चलन छ ।
रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएसँगै सुरु हुने होली पूर्णिमाको राति चीर दाह गरेपछि औपचारिक रूपमा समापन हुन्छ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिँदै सभ्य र मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।
यसैबीच प्रहरी प्रशासनले होलीका नाममा उच्छृङ्खल गतिविधि नगर्न, जथाभावी रंग नदल्न र सामाजिक सद्भाव बिग्रिने कार्य नगर्न चेतावनी दिएको छ । नियम उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।





