१९ फागुन, काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार दूतावास भवनलाई लक्षित गर्दै दुईवटा ड्रोन प्रहार गरिएको हो। आक्रमणपछि भवनमा सामान्य आगलागी भएको र आंशिक क्षति पुगेको दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार आक्रमणलगत्तै ठूलो विष्फोटको आवाज सुनिएको थियो भने आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो। यद्यपि दूतावासमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। घटना हुनुअघि नै भवन खाली गराइएको बताइएको छ।
साउदीस्थित अमेरिकी मिशनले रियाद, जेद्दा र धहरानमा बसोबास गर्ने नागरिकलाई घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ। पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका कारण सुरक्षास्थिति थप संवेदनशील बनेको छ।
शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गरेपछि क्षेत्रीय अवस्था झन् चर्किएको हो। उक्त आक्रमणमा इरानका सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएको दाबी गरिएको छ। त्यसको बदलास्वरूप इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडासहित विभिन्न स्थानमा आक्रमण जारी राखेको जनाएको छ।
यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास आसपासबाट पनि धुवाँ उडिरहेको देखिएको थियो। त्यसपछि दूतावासले सर्वसाधारणलाई दूतावास नआउन र घरमै सुरक्षित बस्न अनुरोध गरेको थियो।
इरानले खाडी क्षेत्रका विभिन्न मुलुकमा निरन्तर आक्रमण गरिरहेको बताइएको छ। संयुक्त अरब इमिरेट्सको एक विमानस्थलमा भएको आक्रमणमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखा निवासी दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि भइसकेको छ। निरन्तर साइरन बज्ने र आकाशमा ड्रोन उडिरहेको दृश्यले त्यहाँ रहेका नेपाली समुदायमा त्रास बढाएको छ।




